यो रहरको शहर हो

  सरन हुमागाई


यो रहरको शहर हो
यो करको शहर हो
समुन्द्रपारीको देशको भिषा
मेरो हरियो राहदीनीमा ड्याम्म
लागेको दिन
मेरा सपनाहरु पनि
बिस्तारै भर्यांग उक्लेको थियो
पहिलोपल्ट खुशी र पिडाको आँशुको
घुट्को लिंदै
आमाको माया र बाको आशिश थापेर
काठमाडौं शहर छिरेको थिएँ
हवाईजहाज चढ्न
 
सबै रंगिन सपनाहरु
मेरा खाली खाली विपनामा घोलेर
पहिलोपल्ट बढेमानको 
हवाईजहाज चढेर हुईंइइइइअ गर्दा
डलर ओछ्याएर निन्द्रा पुर्याउने सपानाहरु पनि
पहिलोपल्ट बुईंगल चढेको थियो हुईं हुईँ गर्दै!
 
यो रहरको शहरमा
यो करको शहरमा
मेरै आँगनदेखि भाँडाकुँडी खेल्दाखेल्दै
खेल्दाखेल्दै खेल्दाखेल्दै
जुठा भाँडा माज्न पो आईपुगेछु
भाँडाले भाडा तिर्न...
कोठा भाडा तिर्न, ट्रेन भाडा तिर्न
कलेज भाडा तिर्न...
भाँडैभँडाको थाँतले
पुर्पुरोमा हात राखेर
काँडाैकाँडाको भारी रिन बोकेर
म मुग्लान होइन
यो रहरै रहरको देश छिरेको
यो करै करको देश छिरेको
यी गगनचुम्बी महलहरुको अग्लाईसँगै
आफु र आफ्नो पहिचान कतै अग्लिन्छ कि भनेर
.....तर..तर तातो पसिनाले पग्लिंदा पग्लिंदा 
मेरा बिपनाहरु थोरै भाउमा बेचेर
मेरा केही सपनाहरु डलरमा किनेको छु
यो रहरको सहरमा 
यो करको शहरमा
मैले बा-आमाको कयौं आशा र भरोशाहरु
त्यही पारी पाखामा छोडेर
पुरा नहुने सयौं स्वार्थहरु अोडेर
यो बिरानो बाटो हिंडेको छु
यो बिरानो बाटो हिँडेको छु।  -सरन हुमागाई 
 
 
*तपाईको साहित्य तथा प्रतिक्रियाका लागि हाम्रो radionepalfm@gmail.com मा इमेल गर्नुहोस !