समयमै पुल नबनाउनेलाई ८५ लाख जरिवाना



दाङ, २६ जेठ ।
दाङमा बर्षौ सम्म पनि पुल निर्माण नगर्ने निर्माण व्यवसायीलाई सरकारले ८५ लाख रुपैयाँ जरिवाना तिराएको छ । पुलहरु सम्झौता अबधी भन्दा निकै लामो समय सम्म पनि निर्माण नसकेपछि सडक डिभिजन कार्यालय दाङले ८५ लाख रुपैयाँ जरिवाना तिराएको हो ।

काठमाडौंको शंकरमाली निर्माण कम्पनीले कटुवाखोलाको पुल बनाउन ४ करोड १० लाख रुपैयाँमा २०७१ साल भदौ ११ गते सम्झौता गरिम्याद थप सहित २०७४ असोज १० गतेसम्म निर्माण सक्नु पर्ने भए पनि नसकेपछि ३५ लाख रुपैयाँ जरिवाना काटेको सडक कार्यालयले जनाएको छ ।

त्यस्तै शंकरमाली निर्माण कम्पनीले नै ठेक्का लिएको पत्रेखोलाको पुल पनि सम्झौता अबधी भित्र सम्पन्न नभएपछि २५ लाख रुपैयाँ जरीवाना तिराएको सडक कार्यालयका इन्जिनियर लिलाबहादुर भण्डारीले जानकारी दिनुभएको छ ।

२०७१ भदौ १ गते ४ करोडमा सम्झौता भएको र २०७४ असोज ९ गतेसम्म सम्पन्न भइसक्नुपर्ने उक्त पुल पनि कामै नभई अलपत्र पर्दा सडक डिभिजन कार्यालयले २५ लाख जरिवना काटेको हो ।

यसैविच रसुवा कन्स्ट्रक्सन प्रालिले हापुर खोलामा बनाउन लागेको पुलमा लापरवाही गर्दा २५ लाख जरिवना तिर्न बाध्य भएको छ । पुल निर्माणमा छुट््याईएको बजेट कटौती गरी राजस्वमा संकलन भएको इन्जिनियर भण्डारीको भनाई छ ।

चालु आर्थिक बर्षको अन्त सम्म पनि पुल निर्माण हुने लक्षण नदेखिए कानुनी कार्वाहीमा जाने अन्तिम निर्णय भएको समेत उहाँले जानकारी दिनुभयो ।


Loading...