मापदण्ड विपरित औषधि पसल, अनुगमनमा बेवास्ता



Loading...

जीतसागर जी.एम.
दाङमा संचालित करिब २ सय औषधि पसल छन् तर लामो समयदेखि औषधिपसलको अनुगमन हुन सकिरहेको छैन् । औषधिपसलको अनुगमन नहुँदा बिरामी झनै बिरामी पर्ने खतरा बढेको छ भने राज्य पनि रोगी बन्ने निश्चित देखिएको छ । जिल्लामा रहेका अधिकांश औषधि पसल कि त दर्ता नै छैनन् दर्ता गरेर संचालन गरेका पनि अरुको नाममा संचालनमा छन् । मापदण्ड विपरित औषधि पसल संचालन हुँदा पनि औषधि पसलको अनुगमन प्रभावकारी बन्न सकिरहेको छैन् ।

जिम्मेवार निकाय गम्भिर नबन्दा जिल्लामा संचालित अधिकांश औषधि पसलले मापदण्ड पुरा गरेका छैनन् । औषधि पसल एउटाको नाममा पसल अर्कैले संचालन गरेको, स्थानीय तहमा दर्ता नगरी संचालन गरेको, म्याद गएका औषधि पनि बिक्रि गर्ने औषधिसंगै राख्ने गरेको लगायतका बेतिथि औषधि पसलको छ । औषधि पसलमा देखिएको बेतिथीले सर्वसाधारण बढी मारमा पर्ने गरेको उपभोक्ता हित संरक्षण मञ्च दाङका अध्यक्ष केशबकुमार शर्माले बताए । ‘स्वास्थ्य जस्तो संवेदनशिलमा राज्य गम्भिर बन्नुपर्छ तर त्यसो हुन सकिरहेको छैन्, अब अनुगमनलाई प्रभाकारी बनाउनुपर्छ’उनले भने ।

स्थानीय सरकार आएपछि स्वास्थ्यका क्षेत्रमा केहि नयाँ आयाम पनि थपिएको छ तर सानो—सानो कुरामा सरकारी संयन्त्र चुकिरहेका छन् । एक त औषधि पसलको अनुगमन नै हुने गरेको छैन् अर्कोतिर सिमित तथा मौसमि अनुगमन अनुगमन हुँदा अधिकांश औषधि पसल मादण्डमा आउन सकेका छैनन् । कानुनको अभावमै अनुगमन हुन नसकिरहेको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख गोकर्ण दहालले बताए ।‘लामो समय भयो, अनुगमन भएको छैन्,त्यो जिम्मेवारी स्थानीय सरकार नै हो तर अनुगमन प्रभावकारी बन्न सकिरहेको छैन्’—उनले भने ।