बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनसंख्या र स्वास्थ्य अवस्थाको तथ्यांक अध्यावधिक गर्ने सफ्टवेयर प्ररम्भ :



बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनसंख्या र स्वास्थ्य अवस्थाको तथ्यांक निरन्तर अध्यावधिक गर्ने गरी प्रोफाईल बनाइएको छ । पोखरा रत्नचोकमा रहेको भर्चुअल टेक्नोलोजी प्रालिले बनाएको सफ्टवेयरको शुक्रबार बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उद्घाटन गरे । उक्त सफ्टवेयर प्रालिका प्रवन्ध निर्देशक सविन शर्माले नारायण स्थान स्थित स्वास्थ्य चौकीलाई हस्तान्तरण गरे ।


सफ्टवेयर मार्फत वडाभरका सबै नागरिकको नाम, ठेगाना, उमेर, स्वस्थ्यको अवस्था र अन्य ब्य्क्तीगत विवरण पनि राखिएको छ । सुआहारा कार्यक्रम मार्फत महिलाहरुको स्वास्थ्य र पोषणमा सुधार ल्याउने गरी भैरहेको काममा यो सफ्टवेयर उपयोगी हुने बताइएको छ । कार्यक्रम उद्घाटन गर्दै नगर प्रमुख पौडेलले स्वास्थ्यको अवस्था सुधार ल्याउनका लागि नगरपालिका पनि लगानी गर्न तयार भएको बताए ।
यो विधिलाई सबै क्षेत्रले प्रयोगमा ल्याएमा आम नागरिकको स्वास्थ्यको अवस्था पनि निरन्तर बुझ्न सकिने बताईएको छ । नारायणस्थानमा गठित सबै स्वस्थ्य आमा समूह र महिला स्वास्थ्य स्वयंसेविकामार्फत टोलटोलमा पुगेर तथ्यांक संकलन गरिने योजना छ । त्यस्तै यो तथ्थांकलाई नियमित अध्यावधिक गर्न स्वास्थ्य चौकीलाई लगाइएको वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताए । भौतिक बिकाससँगै प्राविधिक र सामाजिक क्षेत्रको बिकासमा पनि जनप्रतिनिधिहरुले सहजीकरण गर्ने र दक्ष प्राविधिकबाट काम गराएर बिकासमा अगाडि बढ्ने उनले बताए ।
वडा अध्यक्ष चक्रबहादुर खत्रीकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका सामाजिक बिकास समितिका अध्यक्ष गणेश थापा, जनताधन माविका प्रअ तथा स्वास्थयचौकी व्यवस्थापन समितिका सचिव कुमार पौडेल लगायतले बोलेका थिए । नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन र सुआहारा परियोजनाले यो अभियानका लागि सहयोग गरेको थियो ।
उक्त अवसरमा वडा भित्र गठन भएका १६ वटा स्वास्थ्य आमा समूहलाई स्वास्थ्य सामाग्रीहरु पनि वितरण गरिएको थियो । महिला स्वास्थ्य स्वयंसेविकाले मासिक रुपमा तथ्यांक बनाएर लिखितै राख्नका लागि तयार पारिएको फाइल, बालबालिकाको तौल लिने मेसिन, कुपोषण बारे थाहा पाउन नाप्ने टेप लगायतका सामाग्री हस्तान्तरण गरिएको हो । ती सामाग्री पाएपछि नियमित भैरहेका काम सहज हुने र तथ्यांक राख्न उपयोगी भएको महिला स्वास्थ्य स्वयं सेविकाहरुले बताए ।
भर्चुअल टेक्नोलोजी प्रालिले तयार गरेको सफ्टवेयर पनि स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको छ । उक्त सफ्टवेयरमा अहिले भएको साथै रोजगारीका अवस्था र आम्दानीका श्रोतहरुको अवस्था थप्न सकिने बताइएको छ । रोगको अवस्था पनि राखिएकोले उपचारका अभियान संचालन गर्न पनि सहज हुने बताइएको छ । बालबालिकाले खोप लाए नलाएको सूचक पनि त्यहीं समावेश गरिएको छ ।

 


Loading...