भ्रष्टाचार नै विकास र समृद्धिको बाधक मात्र बनेको छैन- प्रदेश प्रमुख खनाल



कर्णालीका प्रदेश प्रमुख दुर्गाकेशर खनालले भ्रष्टाचार नै विकास र समृद्धिको बाधक नवनेको र यसले विश्वमै मुलुकको इज्जत र प्रतिष्ठा दाउमा राखेको वताएका छन । २८ औं अख्तियार दिवसका अवसरमा सोमवार वीरेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन प्रदेश प्रमुख खनालले यस्तो बताएका हुन ।

खनालले राज्य पुनर्संरचनासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचार निवारणमा चुनौती थपिएको र राजनीतिक नेतृत्व र कर्मचारीको संयुक्त प्रयासबाट मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिने उद्घोष गरे ।
उनले राज्यका स्रोतसाधन, अधिकार विकेन्द्रीत एवं तहगत विनियोजन गरिएको अवस्थामा भ्रष्टाचार नियन्त्रण झन् कठिन बनेको बताए । आर्थिक तथा भौतिक सम्पत्तिको हिनामिना गर्नु र रातारात धनी बन्न रकम लिनु मात्रै भ्रष्टाचार नभएको बताउदै अनुशासनहिनता, समयमा कार्यालय नआउनु, तोकिएको जिम्मेवारी पूरा नगर्नु, मनोमानी रुपमा काम गर्नु र अनियमितता देखिनु पनि भ्रष्टाचार भएको उनको भनाई थियो ।


कार्यक्रममा भ्रष्टाचार निवारणसम्बन्धी चेतनामूलक नाटक पनि प्रर्दशन गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल, वीरेन्द्रनगर नगर प्रमुख देवकुमार सुवेदी, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा लगायतले भ्रष्टाचार न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।