चतरामा तारक ब्रम्ह माहायज्ञ सुरु, चतरा नेपालकै गौरव – राष्ट्रपति भण्डारी



तेजबहादुर बन, सुनसरी । सुनसरीको बराहक्षेत्र चतराधाममा शनिबारदेखि १० दिने तारक ब्रम्ह माहायज्ञ सुरु भएको छ । बिश्वको दोश्रो र नेपालको इतिहासमा पहिलो महायज्ञको रूपमा हेरीएको यस महायज्ञको नेपालकी प्रथम महिला राष्ट्रपति बिद्यादेवि भण्डारीले समुदघाटन गर्नुभएको छ ।

उदघाटन पछि समारोहलाइ सम्बोधन गर्नुहुदै राष्ट्रपति भण्डारीले सुनसरीको चतराधाम ऐतिहासिक धार्मिक पर्यटकिय स्थलको रूपमा बिकास भइसकेको र यो नेपालकै गौरव पनि रहेको बताउनुभयो । उहाले बराहक्षेत्र मुलुकै उत्कृष्ट धार्मिक गन्तव्य भएको र रामनन्द सेवापीठको सक्रियतामा भएको महायज्ञ कार्यक्रमले यहाँको गरिमा बढाएको समेत बताउनुभयो ।महायज्ञको उद्घाटन कार्यक्रममा उहाँले नेपालमा पहिलो पटक भएको तारकब्रह्म महायज्ञले राष्ट्रकै गौरव बढाएको पनि बताउनुभयो ।

त्यस्तै कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले महायज्ञको प्रसंशा गर्दै बराहक्षेत्रलाइ हरित अभियानको घोषणा समेत गरेका छन । उनले हरित अभियानलाइ सार्थकता दिलाउन प्रदेश सरकार कटिबद्ध रहेको बताउदै सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन । १४ करोडको लागतमा आयोजना भइरहेको महायज्ञमा नेपाल भारत लगायतका अन्य मुलुकहरूबाट पनि जगद्गुरु, पीठाधीस र महामण्डलेश्वर आएका छन ।

हिन्दू अध्यात्मअनुसार तारकब्रम्ह मन्त्र जप गरेर गरिने होम नै तारकब्रम्ह महायज्ञ हो । यो मन्त्र पौराणिक कालमा देवताले जप गर्ने गर्दथे । पछि पृथ्वी जगतको कल्याणका लागि ठूला महाराजाले यो यज्ञ लगाउने गरेका थिए । यो मन्त्रको जप गरेर होम गर्दा उत्पन्न धुवाँबाट एक पटकमा १०८ प्रकारका ‘साइकोन’ उत्पन्न हुने र त्यसले वायुमण्डललाई शुद्ध बनाउने काम गर्ने रामानन्द सेवापीठका पिठाधिस महायोगी डा कृष्णदास महाराजले बताउनुभयो ।

डा कृष्ण दासका अनुसार तारकब्रम्ह यज्ञ नेपालमा पहिलो पटक र विश्वमा ७०५ वर्षपछि हुन लागेको हो । आयोजकले यहाँको हुनमान मन्दिर परिसरमा ११ तले कलात्मक हवनकुण्ड निर्माण गरेको छ । हवनका लागि विभिन्न १०८ प्रकारका हवनकुण्ड बनाइएका छन् । यही कुण्डमा एक हजार २०० साधकले १६ करोड हवानाचार्यसहित एक अर्ब ६० करोड पटक ‘तारकब्रम्ह मन्त्र’ जप गर्ने छन् ।