भियतनाममा खिचियो लभ स्टेशनको नयाँ गीत, चलचित्र २२ चैतमा रिलिज हुँदै



काठमाडौं, २१ माघ पुष । चलचित्र ‘लभ स्टेशन’ २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ । चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित यो चलचित्रको एउटा गीत भियतनामको विभिन्न सुन्दर स्थानमा छायाँकन गरेर युनिट नेपाल फर्किएको छ । नेपाल आए लगत्तै फिल्मको रिलिज डेट तय गरिएको हो ।

यस अघि अमेरिका र भियतनाम युद्ध सम्बन्धि सिनेमा सहित किङकङ, एनाकोण्डा जस्ता हलिउडको सिनेमा छायाँकन गरेको भियतनाममा लभ स्टेशनको एउटा गीत छायाँकन गरिएको छ । यो चलचित्रको लभ सङ घाम जुन नै चाहिँदैन...को छायाँकन भियतनामको विभिन्न सुन्दर स्थानमा गरिएको यसका प्रस्तुत कर्ता गोविन्द शाहीले जानकारी गराएका छन् ।

यो गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले अभिनय गरेका छन् । भियतनामको विभिन्न निकै सुन्दर स्थानमा छायाँकन गरिएका यो गीतको भिडियो नेपाली दर्शकका लागि नयाँ र रोमाञ्चक सावित हुने विश्वास निर्माण पक्षको छ । यो गीतको भिडियो अगामी भ्यालेन्टाईनको अबसर पारेर २ फागुनमा रिलिज गरिने भएको छ । गीतको छायाँकन सकेर निर्माण टोली शुक्रबार काठमाडौं आएको हो ।

यो चलचित्रका प्रस्तुतकर्ता एवम् वितरक गोबिन्द शाहीले लभ स्टेशनको रिलिज मिति घोषणा गर्दै यसलाई २२ चैतमा रिलिज गर्नु लागेको बताए । कारणबारे उनले भने,‘मैले वितरण गरेको चलचित्र क्याप्टेन १७ फागुनमा, साईंली १५ चैतमा र ए मेरो हजुर ३ को रिलिज २९ चैतमा गरिने भएपछि यी चलचित्रको प्रदर्शन व्यबस्थित गर्न पनि लभ स्टेशनलाई २२ चैतमा रिलिज गर्ने निर्णय गरिएको हो ।

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । चलचित्र भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् ।

अभिनेता प्रदीप खड्काले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा लभ स्टेशनमा आफ्नो काम केही पृथक रहेको बताएका छन् । अहिलेसम्मको काम प्रसँसनीय भएको यी अभिनेताले जानकारी गराए । नयाँ गीत घाम जुन नै चाहिँदैन पनि साह्रै मिठो र भिजुअल रुपमा निकै सुन्दर बनेको प्रदीपले बताए ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।
आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।


Loading...