निशुल्क मुटु परीक्षण शिविर



मुटुका बिरामीहरुलाई लक्षित गर्दै विभिन्न संघसंस्थाको आयोजनामा निशुल्क मुटु परीक्षण शिविर सञ्चालन गरिएको छ । चितवन, नवलपुर र तनहूँका विभिन्न पाँच स्थानमा सञ्चालन हुने शिविर चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ बाट सुरुआत गरिएको छ ।

नेशनल हर्ट हण्ड लंग्स् सोसाइटी, हर्ट फण्ड नेपाल, चेक हर्ट फाउन्डेशन युरोपको आयोजनामा सञ्चालन भएको शिविरमा पाँच दिनमा आठ सय भन्दा बढीको मुटु परीक्षण गरिने स्थानीय आयोजक लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेले बताए । शिविरको स्थानीय आयोजकको रुपमा लायन्स क्लब अफ नारायणगढ बालकुमारी, लायन्स क्लब अफ नारायणगढ नारायणी, एभरेष्ट बचत तथा ऋण सहकारी संस्था, नारायणी मोटर्स, एबिसी नारायणी मोटर्स प्रालि गैंडाकोट, रोट¥याक्ट क्लब अफ भरतपुर रहेका छन् ।

सोमबार भरतपुर २९ बाट सुरु भएको शिविर १५ गते नवलपुरको गैंडाकोट, १६ गते चितवनको चैनपुर, १७ गते शारदानगर तथा १८ गते तनहूँको पुर्कोट माविमा हुने बताइएको छ । नेशनल हर्ट हण्ड लंग्स् सोसाइटीका सचिव मुटुरोग विशेषज्ञ डाक्टर कौशल तिवारीको नेतृत्वमा स्वदेशी तथा विदेशी गरि १० जना चिकित्सकहरुले मुटुको चेकजाँच गरिरहेका छन् । आर्थिक अवस्था कमजोर भएका समुदायलाई लक्षित गर्दै बर्सेनि इको सेवा सहितको निशुल्क मुटु परीक्षण शिविर सञ्चालन गरिदै आएको डाक्टर तिवारीले बताए ।


Loading...